काठमाडौं— मंसिर ४ मा हुने संविधान सभा निर्वाचनका लागि मुलुकभरिका निर्वाचन कार्यालयमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको काम भइरहेको छ। कार्यालय खुल्ना साथ नेताहरु कार्यकर्ता अघिपछि लगाएर जिल्लाको निर्वाचन कार्यालय पुगेका छन्।
दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका एमाओवादी नेता बाबुराम भट्टराईले रुपन्देही क्षेत्र नं. ४ का लागि उम्मेदवारी दर्ता गराएका छन्। रुपन्देहीमा दर्ता गराए लगत्तै उनी गोरखा-१ मा दर्ता गराउन फर्किएका छन्।
काठमाडौंमा उम्मेदवारी दिने नेताहरुले संविधान सभा भवनस्थित निर्वाचन कार्यालयबाट उम्मेदवारी दर्ता गराइरहेका छन्। निर्वाचन कार्यालयले काठमाडौंमा उम्मेदवार संख्या धेरै हुने अनुमान गर्दै संबिधान सभा भवन परिसरमा अस्थायी १० डेस्क स्थापना गरेको हो। काठमाडौं क्षेत्र नम्बर ३ बाट एमाओवादीले गणेश रेग्मीलाई टिकट दिए पनि बागी उम्मेदवार गणेश तामाङले उमेदवारी दर्ता गराएका छन्। रेसलर हिमालयन टाइगरले काठमाडौं क्षेत्र नं. १० बाट उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौं क्षेत्र नं. ४ बाट कांग्रेस उम्मेदवार गगन थापाविरुद्ध सुप्रभा घिमिरेले उम्मेदवारी दर्ता गराएकी छिन्। उनी कांग्रेसकी पूर्व सभासद हुन्।
उम्मेदवारी दर्ताका कारण नयाँ वानेश्वर क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ।
झापाबाट नागरिकन्युजकर्मी राजु अधिकारीले जनाए अनुसार नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले वारेसमार्फत् झापा क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। अधिवक्ता जनक पाण्डेले सिटौलाको उम्मेदवारी दर्ता गराएका हुन्। झापाकै क्षेत्र नं. ५ का लागि कांग्रेस उम्मेदवार केशवकुमार बुढाथोकीले पनि उम्मेदवार दर्ता गराएका छन्। एमालेका प्रभावशाली नेता केपी ओलीले झापा-७ बाट उम्मेदवारी दर्ता गराएका छन्। दर्ताका लागि उनी आफैँ निर्वाचन कार्यालय चन्द्रगढी आएका थिए।
रौतहटबाट मदन ठाकुरले जनाएअनुसार जिल्ला क्षेत्र नं. १ बाट एमाले नेता माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन्। १ नम्बर क्षेत्र नेपालको गृहनगर पनि हो। 'नेपाललाई सुख शान्ति दिने हो भने मलाई भोट दिन जरुरी छ', उम्मेदवारी दर्ता गराउँदै उनले भने।
चितवनबाट चाँदनी हमालले जनाएअनुसार चितवन १ नम्बरमा सूर्यबहादुर प्रजाले नाम दर्ता गरेका छन्। पहिलो नाम दर्ता गर्ने प्रजा नेपाल जनजागरण पार्टीबाट उमेदवार हुन्। ठूला राजनीतिक दलले अहिलेसम्म दर्ता नगरे पनि संघीय समाजवादी पार्टीले जिल्लाको ५ वटै क्षेत्रमा उमेदवारी दर्ता गराएका छन्।
सर्लाहीबाट नागरिकन्युजकर्मी सन्तोष सिंहका अनुसार एमाले अध्यक्ष झलनाथ खनाल एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले क्रमशः सर्लाही क्षेत्र नं. १ र ६ बाट वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका छन्। तराइ मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले क्षेत्र नम्बर ४ का लागि उम्मेदवारी दर्ता गराएका छन्।
बाँके १ र ३ का लागि जिल्ला अगुवा रवि हमाल र कोषाध्यक्ष अच्युत प्रसाई
मोरङबाट अजित तिवारीले जनाएअनुसार मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले क्षेत्र नं. ७, आमोदप्रसाद उपाध्याय क्षेत्र नं. १, महेस आचार्य क्षेत्र नं. ६ बाट उम्मेदवारी दर्ता गरेका छन्। रोल्पाका एमाओवादी नेता वर्षामान पुनले मोरङ क्षेत्र नं. ९ बाट उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारले क्षेत्र नं. ७ बाट उम्मेदवारी दर्ता गराएका छन्।
सिरहाबाट मिथिलेश यादवले जनाएअनुसार सिराहा क्षेत्र नम्बर ५ बाट पुष्पकमल दाहालको उम्मेदवारी वेरिस एमाओवादी मिथिला राज्य समिति सदस्य रामचन्द्र महतोले दर्ता गराएका छन्। दाहालका प्रस्तावक मिथिला राज्य समिति सदस्य प्रकाश साह र समर्थक मृर्चया गाउँ कमिटी अध्यक्ष ध्यानी साह छन्।
इलामबाट बेनुपराज भट्टराईले जनाएअनुसार इलाम क्षेत्र नं.१ बाट एमाले अध्यक्ष झलनाथ खनालले वारेसनामा पठाएर उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं.२ बाट सुवाषचन्द्र नेम्वाङले दर्ता गराएका छन्।
डडेल्धुराबाट बरुण पनेरुले जनाएअनुसार कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्। डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ललाई वारेसनामा दिएर देउवाले उम्मेदवारी दर्ता गराएका हुन्। कैलालीबाट दिलबहादुर छत्यालले जनाएअनुसार देउवाले कैलाली ६ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनको वारेस लिएका नरनारायण मनुले उनको नाम दर्ता गराएका हुन्।
बाँकेबाट नागरिकन्युजकर्मी रुद्र खड्काले जनाएअनुसार नेपाली कांग्रेस सभापति सुशील कोइराला वारेसमार्फत् क्षेत्र नं. ३ का लागि उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. १ का जिल्ला अगुवा कांग्रेस कार्यकर्ता रवि हमालले सभापतिको कोइरालाको उम्मेदवारी दर्ता गराएका हुन्। अन्तिम समयमा उनले बाँके क्षेत्र नं. १ छोडेका छन्। उनले छोडेको १ नम्बर क्षेत्रमा कांग्रेस नेता नारायण सिग्देलले उम्मेदवारी दर्ता गराए।
