भक्तपुर, कार्तिक ५ - मध्यपुरथिमि नगरपालिका– ७ स्थित नगरपालिका कार्यालय अगाडि रोकिराखेको एक मिनीबसमा एक पुरुषको शव फेला परेको छ । गएराति पार्किङ गरिराखेको बा१ख १९५० नम्बरको मिनीबसभित्र सर्लाही घर भएका अन्दाजी २८ वर्षीय कुमार दनुवारको शव आज बिहान मिनीबसभित्र भेटिएको प्रहरीले जानकारी दिएको छ ।
टायर पन्चर भएको गाडीको बिहान बनाउनका लागि चालकले बसको ढोका खोलेपछि मात्र शव रहेको थाहा भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतकको टाउँकोमा चोट देखिएको, रगत बगिरहेको अवस्थामा शव फेला परेको हो ।
प्रहरीले गाडीका चालक काभ्रे मच्चे गाविस– ५ का ५५ वर्षीय जयबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।
मृतक विभिन्न बसमा खलासीको काम गरेर हिँड्ने व्यक्ति भएको अनुसन्धानमा खुलेकोे र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस
