सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेशमा आफ्नो पार्टी पहिलो शक्तिको रुपमा उदय हुने दावी गरेका छन् ।
मेची–महाकाली चुनावी अभियानको सिलसिलामा सप्तरी आइपुगेका सद्भावना अध्यक्ष महतोले पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा भने “२२ वर्षे इतिहासमा पहिलो पल्ट मधेशमा सद्भावना पार्टीको पक्षमा यस्तो जनलहर देखिएको हो ।”
एकै दिनमा आधा दर्जन चुनावी सभा र अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै भ्याइ नभ्याई भएको अवस्थामा छोटो समयका लागि आयोजित पत्रकार सम्मेलनमा निकै उत्साहित देखिएका अध्यक्ष महतोले भने”, सद्भावनाका उम्मेदवार अहिले ५२ स्थानमा तीव्र प्रतिस्पर्धामा देखिएका छन् भने ३६ स्थानमा विजय निश्चित देखिएको छ ।”
स्मरण रहोस् सद्भावना पार्टीले ४० जिल्लाका १ सय ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । सद्भावनाले मात्र विना भेदभाव सबै जात जाती, लिंग, भाषाभाषीलाई समान अवसर, न्याय र पहुँच दिने भएकाले सद्भावनाको पक्षमा ब्यापक माहौल र जनसमर्थन बन्दै गएको उनको भनाई थियो ।
विगतमा भएको मधेश आन्दोलनमा ५२ जना मधेशका सपुत शहिद भएर मधेशी जनअधिकार फोरम नेपालले ५२ सिट जिते पनि शहिदको सपना साकार पार्न र मधेशी जनताको अधिकार स्थापित गर्न नसकेको आरोप लगाउँदै उनले सोही विश्वासघातका कारण मधेशी जनता सद्भावना तिर गोलबद्ध हुन थालेको बताए । मधेशी जनताको अधिकार स्थापित गराउन सद्भावनाको जीत आवश्यक रहेको उनको भनाई थियो ।
पहिलो संविधान सभाको निर्वाचनमा ८८ प्रतिशत मत ल्याउने ठूला दलहरुले जनतासँग विश्वासघात गरेकाले यस पल्टको चुनाव ती ठूला दल भनाउँदाहरुका लागि फलामे च्युरा चपाउने सरह हुने उनको दावी थियो ।
एनेकपा माओवादी,, काँग्रेस र एमालेलाई मधेश विरोधी दलको संज्ञा दिँदै उनले त्यस्ता मधेश विरोधी र संघीयता विरोधी दललाई भोट नदिन पनि सञ्चारकर्मी मार्फत सवैलाई आग्रह गरे ।
यसअघि अगुवा कार्यकर्ता भेला र सप्तरीका ६ वटै निर्वाचन क्षेत्रका सद्भावना तर्फका उम्मेदवारलाई सम्वोधन गर्दै उनले शिर ठाढो गरेर जनतामा भोट माग्न जान निर्देश गरेका थिए ।