दोलखा, आश्विन ९ - संविधानसभा निर्वाचन बहिष्कार अभियानमा नेकपा-माओवादीले विदेशी नागरिकलाई पनि प्रयोग गरेको छ । दोलखा चरिकोटमा मंगलबार माओवादी महासचिव रामबहादुर थापा सहभागी कार्यक्रममा आइरिस नागरिक पिटरले निर्वाचन बहिष्कारमा सहभागिता जनाउने मन्तव्य दिएका छन् ।
उनले 'कथित निर्वाचन बहिष्कार गरौं' भन्ने टिसर्टसमेत लगाएका थिए ।
राष्ट्रिय युवा जनस्वयंसेवक दोलखाले गरेको कार्यक्रममा उनले नेपाली राजनीतिमा भारतीय हस्तक्षेप रहेकामा खिन्नता व्यक्त गरे । तर उनले नेपालको संविधानसभा निर्वाचन प्रक्रियालाई 'गद्दार' भन्दै नेपालको ममलामा हस्तक्षेपकारी भाषण गरे । रातो टिसर्ट लगाएका सहभागीले युवा मार्चपास गरेका बेला हातमा बोकेका झन्डाका डन्डीहरू फलामका थिए । फलामे डन्डी बालबच्चाले बोकेका झन्डामा पनि थिए । विभिन्न ठाउँबाट शक्ति प्रदर्शन गर्न ल्याएका सहभागीहरू समाहित कार्यक्रम व्यस्त मानिने सातदोबाटो चोकमा भएको थियो ।
आइरिस पत्रिका 'रेडफन्ड' का वरिष्ठ सम्पादक भनेर परिचय दिएका उनलाई मर्यादापूर्वक सञ्चालक दोलखा सेक्रेटरी प्रेम दर्नालले आसन ग्रहण गराएका थिए । उनले बोल्दा र आसन ग्रहण गर्दा निकै गर्वपूर्वक राता टिर्सट लगाएका सहभागीले तालीले स्वागत गरे । उनका भाषणलाई माओवादी केन्द्रीय नेता विष्णुहरि नेपालले उत्तेजक शैलीमा नेपाली अनुवाद गरिदिएका थिए । उनले आफूलाई बि्रटिस कम्युनिस्ट पार्टीको सदस्य भएको मन्तव्यका क्रममा बताए । सेक्रेटरी दर्नालले विदेशी भए पनि भाइचारा पार्टीको सदस्य भएको नाताले कार्यक्रममा सहभागिता जनाएको कान्तिपुरलाई बताए । धेरै विदेशी कमरेडले यो अभियानमा सहयोग पुर्‍याउँदै आएको उनले दाबी गरे ।
माओवादी महासचिव रामबहादुर थापाले सेना परिचालन गरेर निर्वाचन गराउने दलहरूको तयारी पराजित मानसिकताको उपज भएको बताए । विदेशीको सल्लाहमा गर्न लागेको निर्वाचन बिथोलिने र सडकबाट संविधान बनाउने उनले उद्‌घोष गरे ।