विराटनगर — अर्बौ नोक्सानमा रहेको नेपाल आयल नियमले बोनस बाँडेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चार उच्च कर्मचारीलाई पक्राउ गरेको बिरोधमा कर्मचारीहरूले देशभरका डिपोमा पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेका छन्।

नियमको राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संघ र कर्मचारी युनियनको बिहान काठमाडौंमा बसेको बैठकपछि बुधवार देशभर पेट्रोलियम पदार्थको आपूर्ति रोकेको हो। आयल नियममा यी नै तीनवटा कर्मचारी संगठन हुन्। आयल निगमको क्षेत्रीय डिपो विराटनगरमा लोड भइसकेको टंयाकरको तेल फेरि डिपोमै खन्याउन लगाइएको छ। तीनवटै युनियनको निर्णय आए लगत्तै आयल निगमको देशभरको डिपोबाट पेट्रोलियम पदार्थको आपूर्ति रोकिएको नियमका क्षेत्रीय प्रमुख जगरनाथ घिमिरेले नागरिकन्युजलाई बताए।

'हिजोको अख्तियारको न्यूज थाह छँदैछ, हो, त्यसैको बिरोधमा कर्मचारी संगठनको निर्णय अनुसार पेट्रोलियम पदार्थको आपूर्ति रोकिएको छ,' घिमिरेले भने,'बुधवार देशभरको डिपोमा काम ठप्प पार्ने निर्णय भएको छ।' निगमको विराटनगरस्थित क्षेत्रीय डिपोबाट मात्र दैनिक ६ सय किलोलिटर पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ। पूर्वका झापाको चारआली र धनुषाको सखुवा महेन्द्रनगरमा आयल निगमको डिपो छ।

नेपाल पेट्रोलियम व्यवसायी संघ मोरङका सचिव अरबिन्द शर्माले पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेर बिरोध जनाउनु राम्रो नभएको प्रतिकृया दिए। चाडपर्वको बेला तेलको आपूर्ति रोक्नु जायज नभएको बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल, निर्देशक नागेन्द्र साह, प्रवन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेलाई बोनस बाँडेको आरोपमा पक्राउ गरेको छ ।