काठमाडौं — निजी क्षेत्रले गर्न लागेको काठमाडौं–हेटौंडा सुरुङमार्गको निर्माण कात्तिक २५ बाट सुरु हुने भएको छ । नेपाल पूर्वाधार विकास कम्पनीको सोमबार सम्पन्न पहिलो साधारणसभाले निर्माण सुरु गर्ने मिति तोकेको हो।
'दसैंअघिनै निर्माण कम्पनी छनौट हुनेछ । दसैंपछि कम्पनी साइटमा जान थाल्नेछ,' कम्पनीले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कुशकुमार जोशीले भने, 'दसैं, तिहारलगत्तै निर्माण सुरु हुनेछ ।' नेपाली पुँजी, श्रम र प्रविधिबाट निर्माण हुन लागेको सुरुङमार्गको अनुमानित लागत साढे ३५ अर्ब रुपैयाँ छ । उनका अनुसार सुरुङमार्ग निर्माणमा पाँच अर्ब रुपैयाँको प्रतिबद्धता आइसकेको छ ।

'निर्माण सुरु गर्नेबित्तिकै पुँजी संकलनले तीव्रता पाउनेछ । निर्माण सुरु भएपछि आत्मविश्वास पनि बढ्छ,' जोशीले भने, 'हाम्रो लागि पुँजी संकलन चुनौतीपूर्ण भए पनि त्यति ठूलो समस्या होइन ।' परियोजना सन् २०१६ को डिसेम्बरमा पूरा गर्ने लक्ष्य छ । झन्डै ६ महिनाको प्राविधिक अध्ययन र विश्लेषणपछि भौतिक योजना तथा निर्माण मन्त्रालयले गत जेठ ६ गते निर्माण अनुमति दिएको थियो । निजी–सार्वजनिक–जनता साझेदारी (फोर–पी) मोडलको यो परियोजना सफल भए पूर्वाधार क्षेत्रमा ठूला लगानी आउने विश्वास लिइएको छ । साधारणसभाले कम्पनीको अधिकृत पुँजीसमेत बढाएर १८ अर्ब रुपैयाँ पु¥याएको छ । जोशीका अनुसार १० अर्ब संस्थापक सेयरधनीलाई छुट्याइएको छ भने ८ अर्ब सर्वसाधारणबाट सेयरमार्फत संकलन गरिनेछ ।

'हामीले बढीभन्दा बढी जनता सहभागी होऊन् भनेर १० हजार, एक लाख र १० लाखको संस्थापक सेयर बिक्री गरिरहेका थियौं । साधारणसभाबाट पुँजी वृद्धि गरेर संस्थापकले जति पनि लगानी गर्न पाउने प्रावधान बनाएका छौं,' उनले भने, 'सर्वसाधारणमा जारी हुने सेयर भने एक सय रुपैयाँको हुनेछ । यसमा धेरै नेपाली सहभागी हुन पाउनेछन् ।'

कम्पनीका उपाध्यक्ष लालकृष्ण केसीले सुरुङमार्ग निर्माणमा प्राविधिक कठिनाइ नभएको बताए । 'प्राविधिक हिसाबले सुरुङमार्ग निर्माण कठिन छैन । विस्तृत सम्भाव्यता अध्ययन सकिएको छ । पुलहरुको केही काम बाँकी छ,' उनले भने, 'तोकिएकै समयमा निर्माण सक्नेछौं ।' उनका अनुसार निर्माणको लागि आवश्यक पर्ने मेसिन किन्ने प्रक्रिया सुरु भइसकेको छ । 'सुरुङमार्ग बनाउन आवश्यक पर्ने मेसिनरी छनोट भइसकेको छ । खरिद प्रक्रिया छिट्टै पूरा हुनेछ,' केसीले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले पूर्वाधार क्षेत्रमा सुरुङमार्ग सफल भए निजी क्षेत्रले समेत फड्को मार्ने बताए । उनले रकम र प्राविधिक विषयमा समेत कम्पनी दरिलो भइसकेको बताउँदै रकमको लागि उद्योगी व्यवसायी, रेमिटेन्स कम्पनी र गैरआवासीय नेपालीले सघाउने प्रतिबद्धता जनाएको जानकारी दिए ।

'पैसा दिने प्रतिबद्धता आइसकेको छ । काम सुरु भएपछि प्रतिबद्धताको र अरु पैसा आउन सुरु हुन्छ,' उनले भने, 'पैसाको समस्या छैन ।' निर्माण व्यवसायी तथा कम्पनी सञ्चालक नुगल आनन्द बैद्यले नेपाली निर्माण व्यवसायी सुरुङमार्ग निर्माण गर्न तयार रहेको बताए । उनले सुरुमा सुरुङमार्गको काम थालेर सडक निर्माणमा लाग्ने बताउँदै सुरुङमार्ग निर्माणमा नेपाली सक्षम रहेको दाबी गरे । कम्पनी सञ्चालक सुवासचन्द्र ठकुरीले सुरुङमार्ग निर्माणमा स्थानीय जनता संगठित भएको बताए ।

'सुरुङमार्ग निर्माणको लागि स्थानीय जनता संगठित हुनुभएको छ । दलीय स्वार्थबाट माथि उठेर सुरुङमार्ग निर्माणमा स्थानीय लागेका छन्,' उनले भने, 'यसलाई सबै पक्षले सहयोग गर्नुपर्छ ।' निर्माण–सञ्चालन र हस्तान्तरण (बुट) ऐन अनुसार आएको यो पहिलो परियोजना हो । दुई वर्षअघि कुलेखानी–सिस्नेरी–भीमफेदी सुरुङमार्ग सरोकार समिति हुँदै सुरु भएको अभियानले अर्को चार वर्षमा निर्माण सक्ने र आगामी ३० वर्षमा परियोजना हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । चार लेनको ५८ किलोमिटर 'एसिएन हाइवे' मापदण्ड अनुसारको यो मार्गले हेटौंडाबाट राजधानीको दूरी एक घन्टा १५ मिनेटमा छोट्याउनेछ ।

काठमाडौं–हेटौंडा सुरुङमार्गको लक्ष्य हेटौंडाबाट पश्चिमका क्षेत्रमा चल्ने यातायात सहज, सुगम र व्यवस्थित गर्नेछ । ५८ किलोमिटर लामो सडकमा तीन किलोमिटरमात्र सुरुङ पर्छ । सुरुङमार्ग पार गर्न बढीमा दुई मिनेट लाग्नेछ । सुरुङमार्गमा २५ वटा ठूला–साना पुल बन्नेछन् ।