काठमाडौं — संविधानसभा चुनावका लागि उम्मेदवारी दर्ता गर्न थपिएको समयमा 'उम्मेदवार छान्नु सट्टा' एकीकृत माओवादीले अन्य पार्टीका नेता तान्ने अभियान सुरु गरेको छ । उम्मेदवारी छनोट सकसपूर्ण भएपछि एमाओवादी अन्य पार्टीका नेतालाई आफ्नोमा प्रवेश गराउने अभियानतिर मोडिएको हो।उसले आफैंसँग छुट्टिएर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केही केन्द्रीय नेतालाई पार्टीमा भिœयाएको छ भने अन्य केहीलाई ल्याउने कसरत गरिरहेको छ । यो सेरोफेरोमा एमाओवादीले कांग्रेसका खेमराज भट्ट 'मायालु' देखि एमालेबाट उम्मेदवार भएका सञ्जय साह, नवजनवादी मोर्चाका अध्यक्ष मनोज सिंहलगायतलाई पार्टीमा ल्याएको छ ।यो अभियानमार्फत् एमाओवादी अन्य पार्टीलाई मनोवैज्ञानिक दबाब दिन चाहन्छ । अध्यक्ष पुष्पकमल दाहालले नै पार्टी प्रवेशको लहर चलेको दाबी गरेका छन् । त्यतिमात्र होइन, एमाओवादीले दुईतिहाई ल्याउनेसमेत उनको दाबी छ ।
एमाओवादीको उम्मेदवार छनोट समितिले भने अझै उम्मेदवार चयन गर्न सकेको छैन । आंकाक्षी बढी भएको तथा युद्धकालीन, गैरयुद्धकालीन र नवप्रवेशी तीन पक्षबीच सन्तुलन मिलाउनु परेकाले उम्मेदवार छान्न उसलाई अप्ठेरोमा परेको हो । महिला, मुस्लिम, मधेसी, अल्पसंख्यक, पिछडिएका क्षेत्रजस्ता आरक्षण कोटा मिलाउनुपर्ने चुनौती पनि उत्तिकै छ । यसले प्रभावशाली भनिएकै नेताहरू प्रतिस्पर्धा गर्ने अवसरबाट बाहिरिने सम्भावना छ ।
'महिला, मुस्लिम, पिछडिएका क्षेत्र, दलित, कर्णालीजस्ता सबैलाई मिलाएर जानुपर्ने भएकाले उम्मेदवारी छनोटमा ढिलाइ भइरहेको छ,' भोजपुरा राज्य संयोजक छत्रबहादुर श्रेष्ठले मंगलबार नागरिकसँग भने, 'सबैलाई मिलाउनुपर्ने र नयाँ साथीहरूलाई ठाउँ दिनुपर्ने चुनौती पार्टीसामु छ ।'
ताम्सालिङ र भोजपुरामा विवाद
एकीकृत माओवादीको ताम्सालिङ र भोजपुरा राज्य समितिमा उम्मेदवार छनोटमा गुटगत प्रतिस्पर्धा चर्किंदै गएको छ ।ताम्सालिङ राज्य समितिअन्तर्गत सिन्धुली–३ मा हरिबोल गजुरेलविरुद्ध स्थानीय नेता तथा पूर्व जिल्ला सेक्रेटरी सुरजबहादुर स्याङतान उभिएका छन् ।
गजुरेललाई उम्मेदवारी दिनै नहुने पक्षमा रहेका स्याङतानले उक्त क्षेत्रमा ४५ प्रतिशतभन्दा बढी तामाङ बाहुल्य रहेको कारण देखाउँदै टिकट आफूले पाउनुपर्ने अडान राखेका छन् । सिन्धुली–१ मा राजन दाहाल र बलराम तिमल्सिनाबीच प्रतिस्पर्धा चलेकाले उक्त क्षेत्रको उम्मेदवार चयन जटिल बनेको छ ।
मकवानपुर–३ मा ताम्सालिङ राज्य समितिका इन्चार्ज विश्वभक्त दुलालविरुद्ध स्थानीय नेता ज्योति रायमाझी उभिएका छन् । रायमाझीले उक्त क्षेत्रमा दाबी गरेपछि दुलाल कहाँबाट उठ्ने निक्र्योल हुन सकेको छैन ।
भोजपुरा राज्य समितिअन्तर्गत बारा, पर्सा र रौतहटमा द्विपक्षीय÷त्रिपक्षीय प्रतिस्पर्धा चलेकाले तीनै जिल्लाबाट को–को निर्वाचनमा प्रतिस्पर्धा गर्ने टुंगो हुन बाँकी छ । राज्य समिति बैठक बोलाएर उम्मेदवार छनोट गर्ने भनिए पनि पाँच दिन नाघिसक्दासम्म बैठक बस्न सकेको छैन ।
रौतहटमा भोजपुरा राज्य समिति इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज अशोक जयसवालले आ–आफ्नै उम्मेदवार अघि सारेका छन् । साहले १ नम्बर क्षेत्रबाट एमाले परित्याग गरी आएका राजकिशोर यादव र जयसवालले श्रीप्रसाद मुखिया, २ मा साहले किरण साह र जयसवालले शैलैन्द्र साह, ३ मा साह र जयसवाल दुवैको आफ्नै दाबी छ । त्यस्तै, ४ नम्बर क्षेत्रमा साहले उपेन्द्र साह र जयसवालले सत्यनारायण भगत, ५ मा साहले कान्ती महतो र जयसवालले बिन्देश्वर यादव तथा ६ नम्बरमा साहले देवेन्द्र पट्टेल र जयसवालले अमित श्रेष्ठ, काजीमान कुश्वार र रीता बस्नेतलाई अघि सारेका छन् ।
बारामा प्रभु साह, जिल्ला इन्चार्ज शिवचन्द्र कुशवाहा र पूर्वसभासद जयराम दाहालका आ–आफ्नै सूची भएकाले उम्मेदवार छनोट थप जटिल बनेको छ । कुशवाहाले १ देखि ६ का लागि क्रमशः शम्भु मण्डल, शिवचन्द्र, श्रीपासवान, रामनारायण पाल, लालबहादुर पट्टेल, ज्वाला साह र जयराम दाहालको सिफारिस गरेका छन् भने साहले १ देखि ६ मा क्रमशः ज्वाला साह, कुशवाहा, समिर मियाँ, सुरेश साह, शम्भु मण्डल र हरि चौलागाईंलाई सिफारिस गरेका छन् ।