१९ असोज, जाजरकोट ।  पश्चिम क्षेत्रका १५  गाविसमा तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । चटयाङ लागेर टावरको रेडियो बिगि्रएपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । ती गाविसलाई लक्ष्य गरी मजकोट- ६ मा बनाइएको एक मात्र स्काइफोनको टावर बिगि्रएको तीन हप्ता बितिसक्दा पनि बन्न नसकेपछि त्यस क्षेत्रका बासिन्दा सञ्चारविहीन भएका छन् । नेपाल टेलिकम कार्यालयको उदासीनताका कारण टावरको मर्मत हुन नसकेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
अन्य फोनको सुविधा नभएको त्यस क्षेत्रमा स्काइफोन एक मात्र सञ्चारको माध्यम थियो तर त्यही पनि बिगि्रएको धेरै दिन भइसक्दा पनि नबन्दा जिल्ला सदरमुकाम खलङ्गा र अन्य क्षेत्रको सञ्चार सम्पर्कविच्छेद भएको स्थानीय शिक्षक रामबहादुर शाहीले बताउनुभयो ।     टेलिकम जाजरकोटका प्रमुख हरिजङ्ग शाहले मर्मतका लागि आवश्यक  सामग्री जिल्लामा नभएकाले ढिलाइ भएको हो भन्नुभयो ।  रेडियो र प्राविधिक इन्जिनियर नेपालगन्जबाट आउनुपर्नेमा कार्य व्यस्तताका कारण दसैँपछि मात्र आउने जानकारी आफूले पाएको प्रमुख शाहले बताउनुभयो । रासस