काठमाडौं — नेपाली राहदानी विश्वकै खराब सातको सूचीमा परेको छ। प्रयोग गरिएको कागज, सुरक्षा फिचर्स र बनोटका कारण भने नेपाली राहदानी खराबको सूचीमा परेको होइन, बिनाभिसा प्रवेश गर्न सकिने देश (यात्रा स्वतन्त्रता) संख्याको आधारमा परेको हो।
विश्वका २३ भन्दा बढी देशमा कार्यालय रहेको हेन्ली एन्ड पार्टनर्सको 'ग्लोबल भिसा रेस्ट्रिक्सन इन्डेक्स २०१३' नामक अध्ययन प्रतिवेदनमा नेपाली राहदानीलाई यात्रा गर्ने स्वतन्त्रताका दृष्टिले खराब देखाइएको छ । १ सय ९८ देश समेटिएको सूचीमा नेपाल १९२औं नम्बरमा परेको छ ।
सूचीमा रहेका देशलाई यात्रा स्वतन्त्रताका आधारमा ९३ स्थानमा विभाजन गरिएको छ जसमा नेपाल ८९औं स्थानमा परेको छ । समान अंकका साथ केही देश एउटै स्थानमा रहेकाले सूचीमा रहेका देशको संख्याभन्दा उनीहरूको स्थान कम देखिएको हो । खराब राहदानीको सूचीमा नेपाल पछाडि इरिट्रिया, प्यालेस्टाइन, पाकिस्तान, सोमालिया, इराक र अफगानिस्तान छन् ।
नेपालको अंक ३७ छ भने पहिलो स्थानमा परेको फिनल्यान्डको १ सय ७३ अंक छ ।
विश्वका २ सय १९ गन्तव्य राष्ट्रलाई आधार मानेर सूची बनाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । राहदानीमा भिसा नलगाई गन्तव्य राष्ट्र तथा भूभागमा पुग्न सकिने÷नसकिने आधारमा सूची तयार गरिएको हो ।
फिनल्यान्डका नागरिकले विश्वका १ सय ७३ देशमा राहदानीमा भिसा नलगाई पुग्न सक्छन् । अर्थात उनीहरुलाई १ सय ७३ देशले 'अनएराइएभल भिसा' उपलब्ध गराउँछन् । नेपाली नागरिक भने ३७ देशमा मात्र आफ्नो राहदानीमा भिसा नलगाई पुग्नसक्ने अध्ययनमा देखाइएको छ ।
अध्ययनमा समेटिएका २ सय १९ देश तथा भूभागमध्ये १ सय ८२ राष्ट्रमा जानुपर्दा नेपाली नागरिकले पहिल्यै भिसा लिएर मात्र नेपालबाट सम्बन्धित राष्ट्रतर्फ प्रस्थान गर्नुपर्छ ।
सूचीको फिनल्यान्डसँगै समान अंकका साथ स्विडेन र बेलायत पनि पहिलो स्थानमा छन् । दोस्रो स्थानमा समान १ सय ७२ अंकका साथ डेनमार्क, जर्मनी, लक्जेमबर्ग, र अमेरिका छन् । यस्तै, तेस्रो स्थानमा समान १ सय ७१ अंकका साथ बेल्जियम, इटाली र नेदरल्यान्ड छन् । १ सय ७० अंकका साथ क्यानडा, फ्रान्स, आयरल्यान्ड, जापान, नर्वे, पोर्चुगल र स्पेन रहेका छन् । बिनाभिसा पुग्न सकिने देश संख्यालाई नै अंक मानिएको छ ।
नेपालपछिका इरिट्रिया र प्यालेस्टाइनको ३६–३६, पाकिस्तान र सोमालियाको ३२–३२, इराकको ३१ र अफगानिस्तानको २८ अंक छ ।
सूचीअनुसार दक्षिण एसियाली (सार्क) ८ राष्ट्रमध्ये सबैभन्दा बढी यात्रा स्वतन्त्रता माल्दिभ्सका नागरिकसँग छ । ८० अंकका साथ माल्दिभ्स सूचीको ४९औं स्थानमा छ । राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, नेपाल, पाकिस्तान र अफगानिस्तान क्रमशः ७४, ७७, ८५, ८८, ८९, ९१ र ९३औं स्थानमा छन् ।
