काठमाडौ, आश्विन १८ - संविधानसभाको दोस्रो चुनावका लागि शान्ति र उत्साहपूर्ण वातावरणमा बिहीबार २ सय ४० क्षेत्रमै उम्मेदवारी दर्ता भएको छ । निर्वाचनसम्बन्धी पूर्वप्रकाशित कार्यक्रमअनुसार सबै जिल्ला सदरमुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतका कार्यालयहरूमा प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता भएका हुन् ।
दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची शुक्रबार बुझाउने छन् । आमरूपमा शान्तिपूर्ण रहेको उम्मेदवारी दर्ता प्रक्रियाका क्रममा छिटपुट घटना भने भएका छन् ।
प्रमुख राजनीतिक दलहरूले २४० क्षेत्रमै उम्मेदवारी दिएका छन् । केही ठाउँमा भने केन्द्रका आधिकारिक उम्मेदवारविरुद्ध स्थानीय नेताहरूले बागी उम्मेदवारी दिएका छन् ।  आयोगका अनुसार देशभरि ५ हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये ४ सयभन्दा बढी महिला र साढे ५ सयभन्दा बढी स्वतन्त्र छन् । 
निर्वाचन अधिकृतका कार्यालयहरूमा बिहीबार दर्ता भएका उम्मेदवारहरूको सूची शुक्रबार प्रकाशित हुनेछन् । शनिबार उनीहरूविरुद्ध दाबी विरोध गर्न पाइनेछ ।
निर्वाचन आयोगले असोज २२ सम्म उम्मेदवारलाई आ-आफ्नो नाम फिर्ता लिने मौका दिएर त्यसको भोलिपल्ट उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चुनावको प्रस्थान विन्दुका रूपमा रहेको उम्मेदवारी मनोनयन उत्साहजनक र उपलब्धिपूर्ण रहेको बताए । 'निर्वाचन कार्यक्रम कार्यान्वयनको पहिलो महत्त्वपूर्ण चरण पूरा भएको छ,' उप्रेतीले कान्तिपुरसँग भने, 'यसले मंसिर ४ को निर्वाचन शान्तिपूर्ण, भयरहित, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुन्छ भन्ने प्रस्ट पारेको छ ।' उम्मेदवारी मनोनयनको उत्साहको उच्च प्रशंसा गर्दै उनले संविधानसभाको अर्को निर्वाचनका लागि आम जनता आतुर देखिएको बताए । 'सबै काम पूर्वप्रकाशित कार्यतालिका अनुसार अघि बढ्छन्,' उनले भने, 'कार्यतालिकामा संशोधन गर्ने ठाउँ छैन र त्यसका लागि कसैले दबाब दिएको पनि छैन ।' निर्वाचन आयोगले बिहीबारै सबै जिल्लामा उम्मेदवारी दर्ताको काम व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
काठमाडौंमा ३७३
दस निर्वाचन क्षेत्र रहेको काठमाडौंमा राजनीतिक दल र स्वतन्त्र गरी ३७३ उम्मेदवार मैदानमा उत्रिएका छन् । एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा, एमालेले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा र कांग्रेसले महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा दलबलसहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आ-आफ्ना दलका उम्मेदवारको नाम दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि दाहाल र नेपालले संविधानसभा चुनाव सफल पार्न आह्वान गरेका छन् । 'संविधानसभाका लागि दोस्रो पटक उम्मेदवारी दर्ता गर्नुपर्दा थोरै पीडा र धेरै जिम्मेवारीबोध गरेको छ,' दाहालले भने, 'संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने ऐतिहासिक जिम्मेवारी महसुस गरेको छु ।'
एमाले नेता नेपालले संविधान निर्माणको सुनिश्चितताका लागि आफ्नो दललाई पहिलो स्थानमा पुर्‍याउन आह्वान गरे । 'संविधान निर्माणको सुनिश्चतताका लागि एमालेलाई पहिलो शक्ति बनाउनु आवश्यक छ,' उनले भने, 'संविधानसभाका निर्वाचन सफल हुनेमा आशंका गर्नु पर्दैन ।' नेपालले निर्वाचन प्रक्रियामा असहमत नेकपा-माओवादी पनि जिम्मेवार रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे ।
एमाओवादी अध्यक्ष दाहालले क्षेत्र नं १० बाट, एमाले वरिष्ठ नेता नेपालले क्षेत्र नं २ बाट र कांग्रेस महामन्त्री सिंहले क्षेत्र नं. १ बाट आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । एमाओवादी अध्यक्ष दाहालले आफ्ना प्रतिनिधिमार्फत सिराह ५ मा पनि उम्मेदवारी दर्ता गराएका छन् । एमाले नेता नेपाल भने काठमाडौं २ मा उम्मेदवारी दर्ता गराउन आइपुग्नुअघि रौतहट १ बाट समेत आफ्नै उपस्थितिमा मनोनयनपत्र दर्ता गराएका हुन् ।
एमाओवादी अध्यक्ष दाहाल प्रत्यासी रहेको काठमाडांै १० बाट कांग्रेसका राजन केसी र सुरेन्द्र मानन्धरले उम्मेदवारी दिएका छन् । एमाले वरिष्ठ नेता नेपाल उम्मेदवार रहेको क्षेत्रमा कांग्रेसकी प्रतिमा गौतम र एमाओवादीका लीलामणि पोखरेल प्रत्यासी बनेका छन् । कांग्रेस महामन्त्री सिंहले उम्मेदवारी दिएको क्षेत्रमा एमाओवादीका तर्फबाट अध्यक्ष दाहालकी छोरी रेणु र एमालेका तर्फबाट विद्या न्यौपाने मैदानमा उत्रिएका छन् ।
कांग्रेसका युवा नेता गगन थापाले काठमाडौं ४ बाट उम्मेदवार बनेका छन् । त्यसै क्षेत्रमा एमाओवादीका पूर्वलडाकु कमान्डर नन्दबहादुर पुन र एमालेका जिल्ला अध्यक्ष निर्मल कुइँकेल प्रत्यासी छन् । कांग्रेस परित्याग गरेकी त्यसै क्षेत्रकी पूर्वसभास सुप्रभा घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । काठमाडौं ३ मा एमालेका पूर्वजिविस उपसभापति रामेश्वर फुयाल, कांग्रेसका पूर्वसभासद चक्रबहादुर ठकुरी र एमाओवादीका गणेश रेग्मीले उम्मेदवारी दिएका छन् । एमाओवादीका आधिकारिक उम्मेदवार रेग्मीविरुद्ध गणेश तामाङले बागी उम्मेदवारी दिएका छन् ।
 एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका निवर्तमान सभासद नरहरि आचार्य र एमाओवादीका महेन्द्र श्रेष्ठले काठमाडौं ५ बाट उम्मेदवारी दिएका छन् । क्षेत्र नंं. ६ मा एमाओवादीका हिमाल शर्मा, कांग्रेसका भीमसेनदास प्रधान र एमालेका योगेश भट्टराई प्रतिस्पर्धामा छन् । त्यसै क्षेत्रबाट संघीय समाजवादीका तर्फबा काठमाडौंका पूर्वमेयर केशव स्थापितले उम्मेदवारी दिएका छन् । एमालेमा टिकटका आकांक्षी रहेका स्थापितले समाजवादीबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।
एमाओवादी नेतृ हिसिला यमी, कांग्रेसका प्रमिलसिंह डंगोल र एमालेका रामवीर मानन्धरले काठमाडौं नं. ७ मा प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसका नवीन्द्रराज जोशी, एमाओवादीका मुक्ति प्रधान र एमालेका जीवनराम श्रेष्ठले ८ नम्बर क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेका उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, एमाओवादीका देवेन्द्र पौडेल र कांग्रेसका ध्यानगोविन्द रञ्जितले क्षेत्र नं. ९ को प्रतिस्पर्धामा उत्रिएका छन् । एमाओवादीले क्षेत्र नं. ९ बाट उम्मेदवारी दिने तय भएको रूपा महर्जनलाई अन्तिम समयमा समानुपातिकमा राख्ने टुंगो गरी पौडेललाई त्यस क्षेत्रमा पठाएको हो ।
काठमाडौंका निर्वाचन अधिकारी शम्भु चालिसेका अनुसार क्षेत्र नं. १ र २ मा सबैभन्दा बढीको उम्मेदवारी परेको छ । ती दुवै क्षेत्रबाट ४७/४७ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् भने क्षेत्र नं. १० मा ४० प्रतिस्पर्धी छन् । एमाओवादी अध्यक्ष दाहाल उम्मेदवार रहेको क्षेत्र नं. १० मा दाहाललाई थप्पड हानेर चर्चामा आएका पूर्वलडाकु पद्म कुँवरदेखि रेसलर भरतबहादुर विसुरासम्मले स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजनीतिक दलहरूको झाकीसहितको जुलुसले बबरमहल-बानेश्र क्षत्रको सवारी आवागमन दिनभरि नै प्रभावित भएको थियो भने कार्यकर्ताले आ-आफ्ना दलको पक्षमा नाराबाजी गरिरहेका बेला एकै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका दलका नेताहरूले एक-अर्कालाई बधाई र शुभकामना दिइरहेका थिए ।
भक्तपुरमा ६८
भक्तपुरको दुवै क्षेत्रमा गरी ६७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं. १ मा १० जना स्वतन्त्रसहित ३० जना र क्षेत्र नं. २ मा १० जना स्वतन्त्रसहित ३७ जनाले उम्मेदवारी दिएका छन् । 
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले  उम्मेदवारी दिएका छन् । उनको प्रतिद्वन्दीमा  एमालेकी रञ्जु नापित, कांग्रेसका कृष्णलाल भडेल, माओवादीका सानु सुवाल, राप्रपाका रवीन्द्रप्रताप शाह छन् । गत वर्ष राप्रपाकोतर्फबाट रवीन्द्र बुबा सुरेन्द्र उम्मेदवार भएका थिए । त्यस्तै मालेका रवीन्द्र लाछिमस्युले उम्मेदवारी दिएका छन् ।
भक्तपुरमा क्षेत्र नं. २ मा एमालेको तर्फबाट युवासंघ नेपालका अध्यक्ष महेश बस्नेत, नेमकिपाका सुनिल प्रजापति, कांग्रेसका रामेश्वर ढुंगेल, एमाओवादीका देवीप्रसाद ढकाल, मालेका अदिप खड्का, राप्रपाका सानुकाजी हेक्का, संघीय समाजवादीको तर्फबाट रामगोपाल चौगुठी, राप्रपा नेपालका दीपेन्द्र केसी, नेपाः राष्ट्रिय पार्टीका ज्ञानराम श्रेष्ठलगायतले उम्मेदवारी दर्ता गराएका छन्् । उम्मेदवारहरू आफ्नो पार्टीको नारा र बाजासहित जुलुस लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । प्रशासनले उम्मेदवारी दर्ताका लागि पार्टीहरूलाई फरक-फरक समय दिइएको थियो । प्रशासनले छुट्याइएको समयअनुसार दलहरुको र्‍यालीले गाउँगाउँ र भक्तपुर नगर गुञ्जायमान भएको थियो ।
ललितपुरमा १२५ 
ललितपुरका तीन निर्वाचन क्षेत्रमा प्रमुख दलका उम्मेदवारसहित १२५ जनाले उम्मेदवारी दिएका छन् । तीन क्षेत्रमा दलगत ११५ र स्वतन्त्रमा २८ जनाको उम्मेदवारी परेको हो । महिला उम्मेदवार १६ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नं. १ मा एमाओवादीबाट हरि दाहाल, एमालेबाट मधुसूदन पौडेल र कांग्रेसबाट उदयशमशेर राणाले उम्मेदवारी दिएका छन् । तरुण दलका अध्यक्ष रहेका राणाको विरुद्ध कांग्रेस जिल्ला समिति सदस्य गणेशबहादुर केसीले बागी उम्मेदवारी दिएका छन् । त्यसै क्षेत्रबाट राप्रपा नेपालबाट पूर्वमन्त्री केशरबहादुर बिष्टले उम्मेदवारी दिएका छन् ।
एमाओवादीका सरोज डंगोल, कांग्रेसका चन्द्र महर्जन र एमालेका कृष्णलाल महर्जन ललितपुर २ को प्रतिस्र्धामा उत्रिएका छन् । त्यस क्षेत्रबाट एमाओवादी समर्थित शिक्षक संगठनका ललितपुर अध्यक्ष जनक थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेका रघुजी पन्त, कांग्रेसका मदन अमात्य र एमाओवादीका दीपेश महर्जनले क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका छन् ।
तीनवटै निर्वाचन क्षेत्रबाट १२५ जनाको उम्मेदवारी दर्ता भएको ललितपुरका सहायक निर्वाचन अधिकृत राजेश कटुवालले जानकारी दिए । उनका अनुसार क्षेत्र नं. १ मा ४२, २ मा ४१ र ३ मा ३२ जनाको उम्मेदवारी दर्ता भएको छ । मधेसवादी र साना दलहरूले पनि ललितपुरमा उम्मेदवारी दिएका छन् ।