१९ असोज, काठमाण्डौ । अज्ञात समूहको गोली प्रहारवाट गम्भीर घाइते भएका एमाले नेता महमुद आलमको अवस्था चिन्ता जनक रहेको छ । आलमको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गरेर गोली झिकिएपनि उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । आलमको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको र स्वास्थ्यमा कुनै चकत्कार भएमात्रै पहिलेको अवस्था फर्किन सक्ने अस्पताल स्रोतले जनाएको छ ।
एमालेका तर्फबाट बारा क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार रहेका आलमलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा रहेका अपरिचित व्यक्तिहरूले शुक्रवार विहान परवानीपुरमा गोली प्रहार गरेका थिए । टाउकोमा गोली लागी गम्भीर घाइते हुनुभएका आलमलाई सुरुमा स्थानी नेसनल मेडिकल कलेजमा भर्ना गरिए पनि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाण्डौ ल्याइएको हो ।
आलममाथिको आक्रमणलाई मुस्लिम समुदायसँग सम्बन्धित संघसंस्थाले नेपालका मुस्लिमलाई अन्तर्राष्ट्रिय समुदायले गलतरूपमा हेर्ने र बुझ्ने सिलसिलाको एउटा कडीको रूपमा यो घटना भएको हुन सक्ने आशंका गरेका छन् ।