नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले आफ्नी श्रीमती आगामी संविधानसभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । उनि भ्रष्टाचार मुद्दामा डिल्लीबजार जेलमा रहेका छन ।

कांग्रेसले खड्काकी श्रीमती शिला गौतमलाई दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएको  सार्वजनिक भएको थियो । त्यस पछि उनले आज जेलबाट विज्ञप्ति जारी गर्दै खड्काले श्रीमतीको उम्मेदवारी फिर्ता गरिएको जनाएका हुन् ।

विज्ञप्तीमा खड्काले देशब्यापी रुपमा दुख पाएका, सिद्धान्तनिष्ठ र बीपीको विचार बोकेका कांग्रेस कार्यकर्तामाथि विभेद गरिएको भन्दै आफ्नी श्रीमती पनि चुनाव नलड्ने स्पष्ट पारेका छन । 

उनको प्रेस विज्ञप्ती हेर्नुहोस,

आसन्न संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उमेद्वारी दिने सन्दर्भमा देशव्यापी रुपमा भेदभाव गिरिएको, विपि कोइरालाको विचारसंग वर्षौदेखि प्रतिवद्ध रहेका कार्यकर्ताहरुलाई पार्टीको तर्फबाट उमेद्वारी बन्नबाट वञ्चित गरिएको हुँदा यसमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

मेरो श्रीमती शिला गौतम (खड्का) लाई दाङ्ग क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ दिईएको उमेद्वारी उनले फिर्ता गरिदिएको हुँदा उनी चुनाव नलड्ने व्यहोरा समेत सबैलाई जानकारी  गर्दछु ।

नेपाली काँग्रेसको आदर्श, सिद्धान्त प्रति प्रतिवद्ध दुःख पाएका सम्पूर्ण होनहार कार्यकर्ताहरुको भावनाको पक्षमा म सदा उभिई रहने व्यहोरा जानकारी  गराउँदै अन्यायपूर्ण तवरबाट पार्टीका उमेद्वारीबाट बञ्चित गरिएका साथीहरुलाई पार्टीमा रहेर नै संघर्ष गर्न समेत अनुरोध गर्दछु ।

मिति– २०७० । ०६। १५

खुमबहादुर खड्का

केन्द्रिय सदस्य

नेपाली काँग्रेस