काठमाडौं, आश्विन ९ - एमाले अध्यक्ष झलनाथ खनालका निकट सहयोगी निर्मल भट्टराईले उम्मेद्वारी चयन प्रक्रियामा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन् ।
एमाले राज्य व्यवस्था समिति र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत रहेका भट्टराईले मंगलबार राति अध्यक्ष खनाललाई पार्टी परित्याग गरेको पत्र बुझाएका हुन् । भट्टराई अध्यक्ष खनालको सचिवालय सचिवको रुपमा समेत काम गर्दै आएका थिए ।
कार्यकर्ताको मुल्यांकन, स्थानीय तहमा मिहिनेत गरेका भन्दा नेताको खल्तीबाट झिकिएकाहरुलाई उम्मेद्वार बनाउने नीति अबलम्बन गरिएको भन्दै भट्टराईले असन्तुष्टि जनाएका हुन् । 'दुःख गरेका जेलनेल खाएका, स्थानीय तहमा खटिएकाहरुलाई भन्दा नेताका खल्तीबाट झिकिएकाहरु उम्मेद्वार बनाउने परिपाटी विकास भयो' भट्टराईले ईकान्तिपुरसँग भने,'यो नीति एमालेमा नसच्चिने देखेर मैले एमाले परित्याग गरेको हुँ ।'
उनले कम्युनिष्ट आन्दोलनमै रहने तर अहिले नै अन्य कुनै पार्टीमा सक्रिय हुनेबारे टुंगो नगरेको बताए । 'कम्युनिष्ट आन्दोलनमै रहन्छु तर कहाँ रहने भन्नेबारे टुंगो गरेको छैन,' उनले भने । भट्टराई भक्तपुर जिल्लामा भूमिगत कालदेखि क्रियाशिल थिए । उनले भक्तपुर क्षेत्र नं-२ बाट उम्मेद्वारीको आकांक्षा राखेका थिए ।
क्षेत्रिय समितिमा आफ्नो बहुमत भए पनि कार्यकर्तालाई प्रभावमा पारेर जबरजस्ती रुपमा नेता केपी ओली, महेश बस्नेतलाई सिफारिस गरिएको उनले बताए । युवा संघका अध्यक्ष समेत रहेका बस्नेतलाई अघि सार्न ओलीको नाम अघि सारिएको उनको दाबी छ । क्षेत्रीय समितिले भट्टराईलाई प्रत्यक्षमा सिफारिस नगरेपछि जिल्ला कमिटीले उनलई समानुपातिकमा सिफारिस गरेको थियो ।
जिल्ला समितिको सिफारिसलाई उपत्यका समन्वय कमिटीले भट्टराईको नाम काटेको थियो । 'मैले केही समय अघिदेखि 'डनवाद'को विरोध गर्दै आएको थिए,' भट्टराईले भने,' त्यसैकारण् मलाई घेराबन्दी गर्दै पाखा लगाउन खोजियो, पार्टीमा गरेको कामको मुल्यांकन नै नहुने भएपछि बस्नुको औचित्य रहेन ।'
भट्टराईले अध्यक्ष खनाललेसमेत आफ्नोलाई पछिल्लो प्रकरणमा सहयोग नगरेको बताए ।