काठमाडौ, आश्विन ८ - एकजना बटुवा बाटोमा हिँडिरहेको थियो । एक्कासी विपरित दिशाबाट आएको मानिससाग ठोक्कियो । उसले यताउता नहेरी अगाडिको अर्को मानिसलाई गाली गर्यो । रिसाउँदै उसले भन्यो -"आँखा हेर्नुपर्दैन ?" अर्को चाहिँले जवाफ दियो - "दाई म राम्ररी आँखा देख्दिन, धमिलो मात्रै देख्छु । त्यसैले म तपाईंसाग ठोक्किएँ, मलाई माफ गर्नुस् है ।"
जीवनको हिंडाइ पनि यस्तै हो । राम्ररी दृष्टि सफा गरेर हिँडियो भने दुर्घटनामा परिंदैन अन्यथा कतै ठोक्किन्छ, कतै लडिन्छ, कतै खाल्डोमा परिन्छ । यस्तैयस्तै हुन्छ । जीवनदृष्टि तपाईंको जीवनको गन्तव्य हो । त्यसैले जीवन सफलताको प्रारम्भिक कुरा हो - जीवन सम्बन्धी स्पष्ट दृष्टि ।  सही र सन्तुलित जीवनदृष्टिले हामीलाई सफलता, उन्नति, प्रगति र तनावहीनतातिर लैजान्छ भने असन्तुलित जीवनदृष्टिले छटपटी र हिनतातिर लैजान्छ । .. जीवनमा सफलता चाहने हो भने सर्वप्रथम आˆनो जीवनदृष्टि कस्तो छ त्यसलाई राम्ररी ठम्याउनु पर्दछ । सही र पूर्ण जीवनको दृष्टि विकास भइसकेको रहेनछ भने त्यसलाई सच्याउनु, परिमार्जन गर्नु र विकसित गर्नु आवश्यक हुन्छ ।
माथि उल्लिखित उद्धरण भर्खरै पथिक फाउन्डेशनले प्रकाशित गरेको धीर भण्डारीद्वारा लिखित परिवर्तनकारी जीवनदृष्टिबाट लिइएको हो । सिन्धुलीको दुर्गम गाउँ आम्बोटेमा जन्मेर एमएबीएलसम्म अध्ययन गरेका भण्डारीले करिब १७ वर्षको बैंक सेवामा रहेर काम गरे । त्यसपछि २०६२ सालमा बैंक छाडेर स्वतन्त्र अध्ययन, अनुसन्धान, व्यापार, तालीम तथा अध्यात्म साधनामा लागे । देश र विदेशका भ्रमण गरेर विभिन्न अनुभव बटुले । तालीम, सेमिनार कार्यक्रमहरु सञ्चालन गरे । करिब आधा शताब्दीको उमेर पार गरेर आर्जित तिनै अनुभव र अध्ययनका आधारमा उनले प्रस्तुत पुस्तक परिवर्तनकारी जीवनदृष्टि बजारमा ल्याएका छन् ।
मानवीय सामथ्र्य र बुद्धिमताको उत्खनन, प्रयोग र नवीकरणका छ कदम  उपशीर्षक दिइएको पुस्तकमा ६ वटा अध्याय रहेका छन् । प्रथम अध्यायमा जीवनमा सफलता र समृद्धि हासिल गर्नका लागि आवश्यक अन्तर्दृष्टिको उत्खनन र पहिचान, दोस्रोमा आफूमा निहित गहिरो इच्छाको प्रकटीकरण र लक्ष्य निर्धारण, तेस्रोमा सफलताको लागि आधारभूमि निर्माणका विधिहरु, चौथोमा मानिसमा अन्तर्निहित असीमित मानवीय सामथ्र्यको पहिचान र प्रयोगका तरिकाहरु, पाँचौँमा जीवनका प्राथमिकता निर्धारण र समय व्यवस्थापन गर्ने तरिकाहरु र छैटौंमा मानिसको उत्पादनशील क्षमताको सन्तुलन र नवीकरणका विभिन्न विधि र प्रकृयाहरुबारे चर्चा गरिएको छ ।  
कुनै काम गर्न सुरु गर्ने कुरा गर्नासाथ कसैले सामाजिक परिस्थिति प्रतिकूल छ भन्छन्, कसैले लगानीको अभाव छ भन्छन् । कसैले काम गर्ने मानिस नै पाईदैन के काम गर्ने भन्छन् । कसैले नेता नै ठीक छैनन् के गर्न सकिन्छ र ? भन्छन् । कसैले काम गर्न कानून नै ठीक छैन भन्छन् । काम शुरु गर्ने सोच, चिन्तन र आँट भन्दा पनि पहिले परिस्थितिजन्य दोष र अप्ठ्याराहरु हाम्रा दिमागमा आउँछन् । तर, के यस्ता समस्या सबै निमिट्यान्न भएको अवस्थामा मात्र व्यक्तिले आˆना उन्नति र प्रगतिका कामहरु गर्ने हो ? के यस्ता समस्याहरु हुँदै नभएका देशहरु छन् संसारमा ? विश्वविख्यात कहलिएका मनिसहरु के यी सबै परिस्थिति सहज बनेका बेला मात्र काम गरेर ठूला र प्रसिद्ध मानिस भएका हुन् ? काम गर्ने परिस्थिति ठीकठाक देखेर होइन कामको औचित्य, आवश्यकता र अन्तईच्छाबस काम गरेकाले नै गान्धी, मन्डेला, मार्टिन लुथर किङ, मदर टेरेसा, मिल्टन, नाइटिङ्गेल, हेलेनकेलर, विथोविन, मोजार्ट, ग्यालिलियो, आइन्स्टाइन, सोक्रेटस, प्लेटो, अरस्तु, गौतमबुद्ध, विवेकानन्द वास्तवमा संसार प्रसिद्ध भएका हुन् ।
संसार प्रसिद्ध हुने यी मानिसहरु विपरित परिस्थिति, अभाव र अप्ठ्याराकै बीच महान काम गर्न सकेकाले नै स्मरणीय हुन सकेका हुन् । अप्ठयाराकै बीच उनीहरुले यत्रा उदाहरणीय काम गर्न सके तर हामी दालभात राम्ररी जुटाउन, छोराछोरी राम्ररी पढाउन, एउटा राम्रो बसोबासयोग्य घर बनाउनका लागि गरिने सानोतिनो काम गर्न पनि सबै परिस्थिति ठीकठाक, सजिलो र सहज हुनुपर्ने हो त ? (पृ.११४-११५)
हाम्रो जीवन परिवेशमा परिवर्तन र आत्म विकासका दर्शन, सिद्धान्त र विधिहरुलाई कसरी लागू गर्नुर्पर्दछ भन्ने स्पष्ट दृष्टि यस पुस्तकले दिन्छ । त्यसका साथै लेखकले सामान्य घरेलु काम गर्दा, व्यापार व्यवसाय वा नोकरी गर्दा आइपर्ने विभिन्न अवस्थाको विभिन्न पक्षलाई यस पुस्तकमा बिषयवस्तु बनाएका छन् ।
पुस्तक पढिसकेपछि हामीले बुझेको, हामीले हिँडिरहेको जीवनको बाटो कहीा अल्मलिएको, कहीं द्विविधामा फसेको, कहीं केही छुटेको अनुभव भइरहन्छ । सम्पन्नता र सफलताको हाम्रो बुझाइमा संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता रहेछ भन्ने पनि लाग्दछ । आफूभित्रको सामथ्र्य उत्खनन नभएको, प्रयोग गर्न नसकेको अनि त्यसलाई उत्पादनशील र नवीन बनाइरहने कला नजान्नाले पहिले नै गलत बाटोतिर अल्मलिएर छोड्नु न समाउनुको अवस्थामा पुगिरहे जस्तो पनि अनुभव हुन्छ ।  
अनेक कथा, घटना र जीवन व्यवहारका अनुभवहरुलाई उचित प्रसंगमा उल्लेख गरेर जीवदर्शनलाई अनुभव र व्यवहारका माध्यमले पुष्टि गर्ने प्रयत्न गरिएको छ । पुस्तकले कैयौं ठाउंमा हामीलाईं जुरुक्क उठाउँछ, कैयौं ठाउँमा सोच्न र घोत्लिन बाध्य गराउँछ, हाम्रा बुझाइका अमिल्दापन कहाँ रहेछन् हेर्न सिकाउँछ । सम्पन्नता, सन्तुलन र सकारात्मकतातर्फ बढ्नका लागि घच्घच्याइरहन्छ । पढ्दै जाँदा आफ्नै जीवन आफैंले पढिरहेको, भित्रैदेखि आफैं नियालिरहेको अनुभव हुन्छ । विचारलाई कथा, घटना र अनुभवसागै पाठकलाई तानिरहनु र भित्रभित्रै सफलता र समृद्धिका लागि निरन्तर प्रेरणा जागृत गर्नु यस पुस्तकको साह्रै बलियो पक्ष हो ।
हरेक पाठको अन्त्यमा सार संक्षेप प्रस्तुत गरिएको छ । पुस्तकको हरेक खण्डका अन्त्यमा सार संक्षेप प्रस्तुत गरेर पाठकलाई मुख्य मर्म बुझ्न र मनन गर्न सजिलो बनाइएको छ । त्यसैगरी हरेक अध्यायको अन्त्यमा दिइएको कार्ययोजनाका लागि सुझावले व्यक्ति आफैंले आफूलाई मूल्यांकन गर्न सजिलो बनाइएको छ । त्यसले सिकेका कुरा र आफ्नो व्यवहारबीच तालमेल छ कि छैन जाँच गर्नका लागि व्यक्तिलाई सचेत गराउँछ । जीवनको सन्तुलन, विकास र सफलताका लागि आफूमा अन्तरनिहित क्षमता उत्खनन र प्रयोगका लागि प्रेरित गर्ने यो पुस्तक सबै उमेर, पेशा, व्यवसायमा संलग्न सबैलाई उपयोगी हुने देखिन्छ । पथिक फाउन्डेशनले प्रशाशन गरेको पुस्तकको मूल्य ३ सय रुपैया छ ।