• १९ असोज, काठमाडौं । ‘मोवाइल त अचेल कुकुरले पनि बोक्छ !’ -मोवाइलका बारेमा बनेको लोक कथन हो यो । अहिलेको पुस्ताका लागि मोवाइल यति अत्यावश्यक वस्तु बनिसकेको छ कि एकछिन साथमा भएन, घर-अफिसमा छ्ट्यो अथवा नेटवर्क अवरुद्ध भयो भने तनावमा पर्छन् । शरीरको कुनै अंग नै नभएजस्तो अनुभूति गर्न थाल्छन् । शानका लागि दुई-तीनवटा मोवाइल बोक्नेहरुको संख्या शहरमा सानो छैन ।madhav-ghimire

तर, यही समाजमा यस्ता मानिस पनि छन्, जो मोवाइल बोक्नुलाई सकस सम्झन्छन् । साहित्यिक स्रष्टाहरुमा मोवाइल नबोक्नेहरुको संख्या निकै ठूलो छ । ‘मोवाइल आफ्ना लागि बनेकै होइन’ भन्नेहरु समेत छन् । व्यापारिक वृत्तमा पनि मोवाइललाई झिंजो सम्झने केही भेटिए । साहित्यिक वृत्तबाट पत्ता लागेअनुसार पहिलोसहित तीनपटकका मदन पुरस्कार विजेता तथा वरिष्ठ साहित्यकार सत्यमोहन जोशी, जोशीसँगै पहिलोपल्ट मदन पुरस्कारबाट पुरस्कृत चित्तरञ्जन नेपाली, राष्ट्रकवि माधवप्रसाद घिमिरे, फूलको आँखामा फूलै संसार लगायत दर्जनौं कालजयी गीतका स्रष्टा दुर्गालाल श्रेष्ठ, पाका स्रष्टा तथा कोषकार वसन्तकुमार शम्र्मा नेपाल, यसपटकको जगदम्बाश्री विजेता तथा गीतकार रत्नसमशेर थापा, पाका स्रष्टा माधवलाल कर्माचार्य मोवाइल नबोक्नेहरुमध्येमा पर्नु हुन्छ ।
चर्चित गीतकार तथा पाका चलचित्रकर्मी चेतन कार्की त “मोवाइल आफ्ना लागि बनेकै होइन” भन्नुहुन्छ । कुनैबेलाका चर्चित रेडियो प्रस्तोता, ‘जदौ’ अभियन्ता दाहाल यज्ञनिधि पनि मोवाइल बोक्नु हुन्न । “मोवाइल नहुँदा पनि हाम्रो जीवन चलेकै थियो नि ।” उहाँले एकप्रसंगमा पक्तिकारसँग भन्नुभएको थियो । किड्नीको समस्याबाट पीडित उहाँ अचेल घरमै आराम गरिरहनु भएको छ ।
दुईदशक लामो समयदेखि एकान्तवास बस्दै आउनुभएका कलाकार तथा आख्यानकार मनुजबाबु मिश्र पनि मोवाइल बोक्नु हुन्न । “एकान्त बस्ने नाथूलाई मोवाइल किन चाहियो र ?” पंक्तिकारसँगको भेटमा उहाँले भन्नुभएको थियो । मिश्र बिबिसी नेपाली विभाग प्रमुख रवीन्द्र मिश्र तथा पत्रकारिताको कलेज सञ्चालन गर्ने डा. मञ्जु मिश्रका पिता हुनुहुन्छ ।
पूर्वराजदरबारका गुरु, पञ्चाङ्ग निणर्ायकसमितिको अध्यक्ष समेत रहनुभएका लेखक डा. माधवप्रसाद भट्टराई पनि मोवाइल बोक्नु हुन्न । संयुक्त राष्ट्रसंघको उच्च तहमा पुग्ने नेपाली अर्थात् पूर्वउपमहासचिव कुलचन्द्र गौतमले पनि मोवाइल बोकेको थाहा पाइएको छैन । उहाँ इमेल र फोनमा मात्र उपलब्ध हुने गर्नुहुन्छ । मोवाइल नबोक्ने स्रष्टाको रुपमा चिनिने तेजेश्वरबाबु ग्वंग र सनतकुमार रेग्मीले भने विगत आठ-नौं महिनायतादेखि बोक्न थाल्नुभएको छ । रेग्मीसँग नियमित कुरा गर्न चाहने एकजना प्रशंसकले कर गरी आफैंले मोवाइल उपलब्ध गराएपछि बोक्न थाल्नुभएको हो । त्यसैगरी नाट्यकर्मी प्रचण्ड मल्लले चाहिं संगीत नाट्य एकेडमीको उपकुलपति भएपछि मात्र बोक्न थाल्नुभएको छ । अहिलेका नामी कवि मनु मञ्जिल पनि मोवाइल एकदमै कम बोक्ने स्रष्टामा पर्नु हुन्छ । दिउँसो १-२ बजेबाहेक उहाँको मोवाइल प्रायः सधैं अफ हुन्छ ।
व्यवसायीहरुमा पनि मोवाइललाई अनावश्यक सम्झनेहरुको खाँचो छैन । पर्यटन व्यवसायी तथा सकारात्मक चिन्तनका अभियन्ता कर्ण शाक्य पनि मोवाइल बोक्नु हुन्न । इटहरीस्थित गोरखा डिपार्टमेन्टका कार्यकारी प्रमुख बलराम आचार्य पनि मोवाइल बोक्नुलाई झन्झट सम्झनु हुन्छ । “म चौवीसै घन्टा यही डिपार्टमेन्टमा हुन्छु, भेट्न चाहनेले ल्याण्डलाइनमा गर्छन्, मोवाइल किन चाहियो र ?” एकभेटमा उहाँले भन्नुभएको थियो ।
मोफसलमा पनि प्रशस्तै
मोवाइल नबोक्ने स्रष्टाहरु मोफसलमा पनि भेटिनुभएको छ । पोखराका साथीहरुले बताएअनुसार नदीपुर निवासी बयोबृद्ध कवि तेजनाथ घिमिरे मोवाइल बोक्नु हुन्न । पोखरा एयरपोर्ट नजिकै घर भएका कलाकार मिलन शेरचनले पनि मोवाइल बोकेको थाहा पाइएको छैन । शेरचन सुकेका पातबाट कला सिर्जना गर्नमा नामी हुनुहुन्छ । त्यसैगरी चितवन निवासी बयोबृद्ध कविहरु नारायणदत्त शास्त्री र चेतकान्त चापागाईं पनि मोवाइल बोक्नु हुन्न । चापागाईं छन्द कविताका राम्रा सर्जक मानिनु हुन्छ । यसबाहेक पनि अन्य थुप्रै हुनसक्नु हुन्छ, जसको जीवनले हामीलाई भौतिक वस्तुप्रति आशक्त नहुने शिक्षा दिन्छ