काठमाडौं, आश्विन १८ - अपरिचित समूहको गोली प्रहारबाट घाइते एमाले बारा- ४ का उम्मेदवार महमुद आलमको अवस्था 'अन्यन्तै चिन्ताजनक' रहेको छ ।
त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका आलमको मस्तिस्कमा रगत जमेको इमरजेन्सी विभाग प्रमुख डा. प्रतापनारायण प्रसादले जानकारी दिए । प्रसादका अनुसार आलमको टाउको धेरै छर्रा लागेको देखिएको छ ।त्रिवि शिक्षण अस्पताल ल्याएलगत्तै आलमको सिटिस्क्यान र अपरेशन गरिएको छ ।
आलममाथि शुक्रबार बिहान अज्ञात समूहले बाराको परवानीपुरस्थित चवासती मिल अगाडि गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका दुईमध्ये एकले गोली हानेर भागेका थिए ।
बारा लिपनीमान- १ निवासी एमाले निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष हुन् । चुनावी प्रचारका लागि कार्यकर्ता भेटघाटमा गएका बेला उनीमाथि आक्रमण भएको हो ।
तत्कालै उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज भर्ना गरिएका आलमलाई नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको हो ।