बारा, आश्विन २२ - एमाले केन्द्रीय नेता तथा आगामी संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलममाथि भएको गोली प्रहार घटना अझै रहस्यमै रहेको त्यहाँ खटिएको अनुसन्धान टोलीले जनाएको छ ।
घटनाबारे हरेक आयामबाट अनुसन्धान थालिए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको एक सुरक्षा अधिकृतले जानकारी दिए ।
अनुसन्धानका लागि प्रहरीका अतिरिक्त महानिरीक्षक दीनकरशमशेर जबरा नेतृत्वमा सरकारले गठन गरेको छानबिन समिति र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको छ । केही सशस्त्र समूहले घटनाबारे जिम्मेवारी लिएकाले दुवै टोलीले पहिले उनीहरूबाटै अनुसन्धान थालेको छ । 'उनीहरूले नै घटना गराएका हुन् वा अरूले गराएर उनीहरूलाई जिम्मा लिन लगाएका हुन् स्पष्ट छैन,' टोलीका एक सदस्यले भने, 'यसबारे निष्कर्षमा पुगेपछि मात्रै अनुसन्धान प्रक्रियाले मोड लिनेछ ।'
घटनामा अन्तर्राष्ट्रिय आपराधिक संगठनको संलग्नताबारे पनि अनुसन्धान भइरहेको स्रोतले बतायो । स्थानीय स्तरको रिसइबी, उम्मेदवार बनिसकेपछि घटना भएकाले चुनावी प्रतिस्पर्धा, आलमको पृष्ठभूमि, सम्बन्धलगायतको अनुसन्धान भए पनि ठोस निष्कर्षमा पुग्न नसकिएको अर्का एक सुरक्षा अधिकृतले बताए । 'स्पष्ट केही नदेखिएकाले अहिलेसम्म छामछुमकै अवस्थामा छौं भन्दा हुन्छ,' ती अधिकृतले भने ।
यसैबीच आलमका परिवारलाई प्रमुख जिल्ल्ाा अधिकारी दिनेश भट्टराईले सोमबार साँझ घरमा पुगेर भेटेका छन् । घाइते आलमको अवस्था चिन्ताजनक छ । आलमको स्वास्थ्य नाजुक हुँदै गएकाले परिवार भावविह्वल छन् ।
सान्त्वना दिन परिवारसित भेटेको प्रजिअले बताए । परिवारसहित यस क्षेत्रका मुस्लिम समुदाय उनको स्वास्थ्य लाभका लागि दिनहुँ प्रार्थना गरिरहेका छन् । भेटमा आलम परिवारले दोषीलाई पत्ता लगाउनेदेखि चिकित्सक उपेन्द्र देवकोटाको निगरानीमा उपचार गराइदिन आग्रह गरेका थिए । 'राम्रो उपचार र परिवारका अन्य सदस्यको सुरक्षा हुनुपर्यो भन्दै आग्रह गरेको परिवारका एक सदस्यले कान्तिपुरसित भने, 'नहुने घटनाले मर्माहतमात्र होइन परिवारको भविष्य नै बिगि्रयो, अपराधी त झनै समातिएनन् ।'
भेटका क्रममा सिडिओले भने सुरक्षासहित औषधोपचारका लागि पीडितको तर्फबाट आएका सबै पीडा र सूचना माथिल्ल्ाो निकायमा तत्काल जानकारी गराउने आश्वासन दिए ।
'परिवारसित भेटेर औषधि उपचार र दोषीलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएकोबारेमा सुनायौं,' भट्टराईले भने, 'हामीले भने कुनै कसर बाँकी नराखेको जानकारी दियौं ।' पीडित परिवारबाट आएका सबै पीडा र आवश्यक प्राप्त सूचना आत्मासात् गरी सोमबारै माथिल्ल्ाो निकायमा जाहेर गरिएको उनले बताए ।