नेकपा एमालेले काठमाडौं- १ बाट अभिनेता भुवन केसीको उम्मेदवारी खोसेको छ। नेकपा एमालेले एक रातका लागि काठमाडौं क्षेत्र नं १ को उम्मेदवार बनाएर बुधबार उनको उम्मेदवारी खोसेको हो।
क्षेत्रीय कमिटीको दबाब तीब्र भएपछि एमालेले भुवन केसीको उम्मेदवारी खोसी विद्या न्यौपानेलाई टिकट दिने तयारी गरेको छ।
एमाले स्थायी कमिटी बैठकले काठमाडौं- १ बाट भूवन केसीलाई टिकट दिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले बुधबार अध्यक्ष झलनाथ खनालको ध्यानाकर्षण गराए। उनीहरुले केसीलाई टिकट दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए।
उता, भक्तपुरको क्षेत्र नम्बर १ मा एमालेले रञ्जु नापितलाई उम्मेदवार बनाएको जनाएको छ।
त्यस्तै पर्सा क्षेत्र नम्बर १ बाट सिफारिसमा परेकी अभिनेत्री रेखा थापालाई अन्तिम समयमा एकीकृत नेकपा माओवादीले उम्मेदवारको टिकट दिएन।
माओवादीले बुधबार सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा उनको नाम परेको छैन। थापाको सिफारिस भएको पर्सा क्षेत्र नंबर १ बाट माओवादीले बलिराम साहलाई उम्मेदवार बनाएको छ।
यसअघि मंगलबार वीरगञ्जका एकीकृत नेकपा माओवादीका कार्यकर्ताले नवप्रवेशीमात्र चुनाब उठाउन लागेको भन्दै बिरोध जनाएका थिए।
