कपिलवस्तु, कार्तिक ४ - बैंकबाट ऋण र पैतृक सम्पत्ति बिक्री गरेर पनि यहाँका उम्मेदवारले चूनाव खर्च जुटाउन थालेका छन् । फोरम नेपालबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका मेराज अहमद खाँले पैतृक सम्पत्ति बेचेर प्रचारमा खर्च गरिरहेको बताए । क्षेत्र नं.४ बाट स्वतन्त्र उम्मेदवारी दिएका उनी अभिराव गाविसमा रहेको ३ बिघा खेत बिक्री गरेर रकम जोहो गरेको बताउँछन् ।


साथीभाइको सहयोगबाट उम्मेदवारीसम्म दिएँ, उनले भने, ‘त्यसपछि प्रचारप्रसार र कार्यकर्ता परिचालनका लागि रकम अपूग हूँदा खेत बेच्नूपर्यो ।’ उनले खेत बेचेर ६ लाख प्राप्त गरेका छन् । फोरम नेपालका जिल्ला सचिव उनले टिकट नपाएपछि पार्टी परित्याग गरेका थिए ।

त्यस्तै क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार राजेश आचार्यले चूनाव लड्न बैंकबाट ऋण लिएको बताए । उनले सदरमूकाम तौलिहवास्थितको घरजग्गा धितो राखेर ५ लाख घरासयी कर्जा लिएका छन् । आचार्यले पार्टीले विश्वास गरेर टिकट दिएपछि विजयी हूनका लागि कर्जा लिएको बताए । अन्य उम्मेदवारले चूनावमा अत्यधिक पैसा खर्च गरेपछि पार्टीले सहयोग गरेको १ लाख नगद अपूग हू“दा बैंकबाट ऋण निकाल्नू परेको उनी बताउँछन् । निर्वाचन आचारसंहिताले प्रत्यक्षतर्फका उम्मेदवारलाई १० लाखसम्म खर्च गर्न अनूमति दिए पनि अधिक रकम खर्च गर्दै आएका छन् । पार्टी सहयोग न्युन भएको गूनासो गर्दै आचार्यले बैंकबाट ऋण निकाल्नु परेको बताए । उनले आचारसंहिताले दिएको क्षेत्रभित्र रहेर १० लाखभित्रै चूनाव गर्ने योजना बताए । अहिलेसम्म ६ लाखमात्र जूटेको जानकारी गराउँदै उनले थप ४ लाख साथीभाइबाट सहयोग जूटाउने योजना रहेको बताए ।

आचार्यले बैंकबाट लिएको ऋण तिर्ने आयस्रोत रहेको जानकारी गराउँदै भने, ‘म उखू व्यवसायी हूँ, सिजनमा ४ देखि ५ लाख आम्दानी हून्छ ।’ चूनावमा जित/हार जेभए पनि ऋण तिर्न कूनै समस्या नरहेको उनले स्पष्ट पारे । कृषि विकास बैंक तौलिहवा शाखाका प्रबन्धक पूष्पराज सापकोटाले उम्मेदवार आचार्य बैंकका पूराना ग्राहक भएको बताए ।