- उमेदवार घोषणको तयारी
काठमाडौ, आश्विन ७ - आन्तरिम विवाद सुल्झिएपछि नेपाली कांग्रेसले आज ५ बस्ने बैठकमा संसदीय समिति गठनको तयारी गरेको छ ।
कांग्रेस स्रोतका अनुसार सभापति शुशिल कोइराला र शेरबहादुर देउवा पक्षबीचको विवाद मिलेपछ आज समिति गठन गर्न लागिएको हो ।
स्रोतका अनुसार समितिमा कांग्रेसका पदाधिकारीसहित सभापति कोइराला पक्षीय नेता रामशरण महत, शशांक कोइराला, दिलेन्द्र बडु, पद्मनारायाण चौधरी र कुलबहादुर गुरुङको नाम प्रस्ताव गरिनेछ । साथै, देउवासहित उनी पक्षधर बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम कोइरालाले प्रस्ताव गर्ने बुझिएको छ ।
समिति गठन नहुँदा कांग्रेसले निर्वाचन क्षेत्रबाट सिफारिश भएका उमेदवारहरुको नामावली घोषणा गर्न सकेको थिएन ।
उमेदवार छनौटमा कोइराला र देउवा पक्षको भागभण्डा नमिलेपछि संसदीय समिति गठनमा ढिलाई भएको हो । समितिले कांग्रेसको तर्फबाट चुनावको लागि उमेदवारको अन्तिम नामावली घोषणा गर्नेछ ।
उमेदवारको घोषणामा दलहरुले ढिलाई गरेपछि सरकार र प्रमुख राजनीतिक दलहरुको आग्रहमा निर्वाचन आयोगले मनोनयन दर्ता लगायत निर्वाचन कार्यक्रमहरु एक हप्ता पछि सारेको थियो ।
